पूजा आचार्य । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि बिहीवारदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा शुरु भएको छ । निषेधाज्ञा लागेसँगै अत्यावश्यकीयबाहेकका सेवा बन्द भएका छन् । सर्वसाधारण पनि घरमै बस्न बाध्य छन् । कोरोना संक्रमणको जोखिमबाट बच्ने चुनौती त छँदैछ, निषेधाज्ञालाई कसरी सदुपयोग गर्ने वा कसरी सिर्जनशील बनाउने भन्ने आ–आफ्नै योजना छन् ।
सधैँ व्यस्त रहने गायक, फिल्मी कलाकार र साहित्यकार निषेधाज्ञाबारे के भन्छन् । निषेधाज्ञा अवधिमा के योजना छ उनीहरूको ?
गायक निशान भट्टराई निषेधाज्ञाबारे सकारात्मक छन् । नागरिकको जीवनरक्षाका लागि निषेधाज्ञा गर्नु उपयुक्त भएको उनको भनाइ छ । यो अवधिमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर संगीत सिर्जनामा व्यस्त रहने उनी बताउँछन् । ‘निषेधाज्ञाका कारण साथीभाइसँगको भेटघाट पनि कम हुन्छ’, उनी भन्छन्, ‘यो अवसरलाई सदुपयोग गर्दै सिर्जनामा व्यस्त रहने योजनामा छु ।’
‘खुपीका बाउ’का रूपमा परिचित कलाकार कमल नेपाल अहिले काठमाडौँ बाहिर छन् । ‘फिल्मको सुटिङको सिलसिलामा पूर्वतिर रहेकाले मलाई राजधानीको निषेधाज्ञाले छोएको छैन’, उनी भन्छन्, ‘निषेधाज्ञा अवधिभर यतै रहन्छु होला ।’ तर कोरोना संक्रमणप्रति भने सचेत रहेर काम गरिरहेको उनले बताए ।
लेखक तथा कलाकार गजित विष्ट भने निषेधाज्ञाले गर्दा चिन्तित छन् । कारण हो, भर्खरै शु्रु गरेको होटल व्यवसाय बन्द हुनु । ‘भर्खरै मात्र खोलेको रेष्टुरेन्ट कोभिडका कारण प्रभावित भएको छ’, उनी भन्छन्, ‘निषेधाज्ञाका कारण बन्द नै गर्नुपर्ने अवस्थाले चिन्तित छु ।’ तर खाली भएको समयलाई उपयोग गर्दै केही मौलिक सिर्जना गर्ने उनी बताउँछन् ।
घर फिरुँ कसरी…का गायक दिपक सापकोटा निषेधाज्ञाको समय परिवारसँग बिताउने योजना बनाएका छन् । ‘अरु समयमा व्यस्त भएकाले परिवारलाई समय दिनै पाइएको हुन्न’, उनी भन्छन्, ‘निषेधाज्ञाका वेला पूरै समय परिवारसँग बिताउने सोचेको छु ।’ बाँकी समय घरमै ‘रियाज’ गर्ने पनि उनको सोच छ ।
कवि रमी श्रेष्ठले निषेधाज्ञाको अवधिमा के गर्ने भन्ने सोच बनाइसकेकी छैनन् । निषेधाज्ञा कति लम्बिने हो भन्ने चिन्ताले सताएको छ उनलाई । निषेधाज्ञा हुने खबर पाएसँग उनले अत्यावश्यकीय सामानको जोहो गरेकी छिन् । ‘हामी सिर्जनामा रमाउनेहरू यस्तो परिस्थितिलाई अवसर बनाइरहेका हुन्छौँ’, उनी भन्छिन्, ‘केही नयाँ सिर्जनामा व्यस्त रहनेछु ।’
गायक प्रताप दास पनि यो समयमा गुणस्तरीय संगीत सिर्जनामा लाग्ने बताउँछन् । ‘कोरोना संक्रमण फैलिन नदिन सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्नैपर्छ’, उनी भन्छन्, ‘यसलाई सदुपयोग गर्दै घरमै संगीत सिर्जनामा लाग्ने योजना छ ।’ निषेधाज्ञाको पालना गरी संक्रमणबाट जोगिन उनी सबैलाई आग्रह गर्छन् ।
Leave a Reply