सूचना प्रविधिको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँः मन्त्री शर्मा

 ग्लोबल टिभि      मङ्लबार, बैशाख १९, २०८०      0

वैशाख १९ –  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएकी छन्। छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा व्याप्त बेथितिको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन्।

वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उनको भनाइ थियो। शर्माले राहदानी, राष्ट्रिय परिचय पत्र, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजागारीमा रहेका नेपालीलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच, परामर्शलगायत सेवा सरकारले सुरु गरेको र यी सेवा प्रवाह सहज बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए।

सूचना प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमका रुपमा स्थापित हुन पुगेको बताइन्।

‘यसको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको छ। सेवा प्रवाह पारदर्शी, सहज, छिटोछरितो हुनाका साथै लागत कटौतीमा मद्दत पुगेको छ। राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्, उनले भनिन्। नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा अनलाइनमार्फत घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको र यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको शर्माले उल्लेख गरिन्।

साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताउँदै शर्माले राष्ट्रिय साइबर सुरक्षाको नीति तर्जुमा कार्य अन्तिम अवस्थामा पुगेको जानकारी दिइन्।

मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावलीलगायत कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको जानकारी दिइन्। ‘सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चारसम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको छ’, उनले भनिन्।

सूचना प्रविधिको प्रयोग एवम् सुरक्षित प्रयोग सम्बन्धमा नागरिकलाई साक्षर बनाउन डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रम मुलुकभर सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *