नेपोली ३३ वर्षपछि सिरी ‘ए’ च्याम्पियन

 ग्लोबल टिभि      शुक्रबार, बैशाख २२, २०८०      0

वैशाख २२ – नेपोली ३३ वर्षपछि इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । उडिनेससँग १–१ गोलको बराबरी खेल्दै नेपोली ५ खेल बाँकी छँदै सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो ।

दोस्रो स्थानको लाजियोमाथि १६ अंकको अग्रता लिएर नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नेपोलीले यसअघिका दुई उपाधि अर्जेन्टिनाका दिग्गज डिएगो म्याराडोनाको समय सन् १९८७ र १९९० मा जितेका थिए । अहिले नेपोलीको स्टेडियमको नाम नै डिएगो अर्मान्डो म्याराडोना राखिएको छ ।

डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले अग्रता लिएको थियो । ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएर टोलीलाई च्याम्पियन बनाए ।

यही तीन दशकको अवधिमा नेपोलीले आर्थिक संकटसँगै थुप्रै अवरोह खेपेको थियो । टोली रेलिगेसनमा पर्दै सिरी ‘सी’ समेत खेलेको थियो । नेपोलीले विगत ११ सिजनमा तीन पटक कोपा इटालिया जितेपनि नेपोली समर्थकहरुले सिरी ‘ए’ को उपाधि नै चाहेका थिए । त्यो ३३ वर्षपछि पूरा भएको छ ।

नेपोलीको च्याम्पियन यात्रामा नाइजेरियाका फरवार्ड भिक्टर ओसिमहेन र जर्जियाका विंगर खविचा क्वारात्स्केलियाले दृश्यमा आए । ओसिमहेनले २६ प्रिमियर लिग खेलमा २१ गोल गरेका छन् । खविचाले १२ गोल र १० असिस्ट प्रदान गरेका छन् ।

रोमाबाट दुई पटक कोपा इटालियाको उपाधि जित्ने ६४ वर्षीय प्रशिक्षक लुसियानो स्पालेट्टी सिरी ‘ए’ उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक बनेका छन् ।

लुसियानोको टोलीले गत साता नै ६ खेल बाँकी छँदै उपाधि जित्ने मौका पाएपनि सालेरनिटानासँग बराबरी खेलेपछि अर्काे खेल कुर्नुपरेको थियो ।

नेपोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पछिल्लो तीन सिजनमा तीन फरक च्याम्पियन पाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेयता त्यसपछिको तीन सिजनमा इन्टर मिलान, एसी मिलान र नेपोली च्याम्पियन बनेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *