जेठ १– कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ । यसअघि प्रतिवादी रेशमलाल चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाई पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाई दिनुपर्ने माग गरिएको थियो ।
Leave a Reply