जेठ ११ – फिफा यू-२० विश्वकपमा नाइजेरियाले इटालीमाथि २ – ० गोलको जित हात पारेको छ । योसँगै नाइजेरियाले समूह ‘डी’ बाट अन्तिम १६ मा स्थान सुनिश्चत गर्यो ।
अर्जेन्टिनामा आज बिहान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६१ औँ मिनेटमा नाइजेरियाले डेडलक तोड्यो । सलिम फागो लावलले डाइभिङ हेडरमार्फत गोल गर्दै इटालीविरुद्ध अग्रता दिलाएका थिए । इन्जुरी समयमा जुड सन्डेले गोल गरेपछि नाइजेरिया इटालीलाइ स्तब्ध पार्दै नक आउट चरणमा प्रवेश गरेको हो । २ खेलबाट ६ अंक जोडेको नाइजेरिया तालिकाको शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा ब्राजिलले डोमिनिकन रिपब्लिकलाई ६ – ० गोलको फराकिलो अन्तरले पराजित गर्यो । जारी प्रतियोगितामा ब्राजिलको यो पहिलो जित हो । समूहको आफ्नो पहिलो खेलमा इटालीसँग हारेको ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै नकआउट पुग्ने सम्भावना कायमै राखेको छ ।
पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा २ गोल गर्यो । ३७ औं मिनेटमा साभियो र ३८ औं मिनेटमा मार्कस लियोनार्दोले गोल गरेका हुन्। ५७ औँ मिनेटमा जेन पेद्रोसो तथा ८२ औँ मिनेटमा जियोभानीले डोमिनिकसंगको दूरी ४ – ० मा पुर्याएका थिए । ८५ औँ मिनेटमा कप्तान एडिसन दोहोरो पँहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि डोमिनिक थप दबाबमा आयो ।
इन्जुरी समयमा मार्लोन गोमेज म्याथ्यु मार्टिन्सको गोलसँगै ब्राजिल सानदार जित हात पार्न सफल भयो । २ खेलबाट ३ अंक जोडेको ब्राजिल दोस्रो र समान अंक भएको इटाली तेस्रो स्थानमा छ । डोमिनिकन रिपब्लिकले अंकको खाता खोल्न सकेको छैन ।
Leave a Reply