जेठ १२ – दक्षिण कोरियाले पानीजहाज निर्माण कम्पनीमा नेपाली कामदार लिने भएका छन्। सरकारी योजना अनुसार काम भएमा आगामी जुन महिनाको तेस्रो सातासम्ममा सात सयभन्दा बढी नेपाली कामदारहरू कोरियाको ‘शिपबिल्डिङ’ क्षेत्रमा कामका लागि जानेछन्। नेपाली अधिकारीहरूले दिएको जानकारी अनुसार उनीहरूले त्यहाँ बढीमा सुरुका दुई महिनासम्म तलबसहित प्राविधिक तालिम प्राप्त गर्नेछन्। र, त्यसपछि नियमित कामदारका रूपमा जागिर पाउनेछन्।
“शिपबिल्डिङ क्षेत्रमा यसरी नेपाली कामदारहरू जान लागेको यो पहिलो पटक हो। हुन त पहिले म्यानुफ्याक्चरिङ क्षेत्रमा गएका केही कामदारहरूले शिपबिल्डिङमा पनि काम गर्नु भएको हुनसक्छ,” वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिएका छन्।
उनका अनुसार हालसम्म कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र कामदार लिइरहेको थियो।
यसपालि भने कोरियाले नेपालबाट करिब तीन हजार कामदारलाई पानीजहाज निर्माण क्षेत्रमा लिने भएको हो। “यसपालि शिपबिल्डिङमा पनि लाने भनेर कोरियाबाट आएको छ । यो पहिलो पटक भएकाले हामीले म्यानुफ्याक्चरिङतर्फको ‘रोस्टर’मा भएकामध्ये एक हजार दुई सय १० जनालाई क्षेत्र परिवर्तनका लागि आह्वान गरेका थियौँ,” उनले भने। “त्यसमध्ये बिहीवारसम्म ७२६ जनाले क्षेत्र परिवर्तनका लागि आवेदन दिनु भएको छ।”
ईपीएस शाखाका अनुसार यसरी क्षेत्र परिवर्तन गर्नका लागि शुक्रवारसम्मको समय दिइएको छ। ईपीएस प्रणालीमा कामदार छान्ने कार्यमा कोरियालीहरू नै प्रत्यक्ष रूपमा सामेल हुने गर्छन्। त्यसरी गएका नेपाली कामदारको अहिले न्यूनतम तलब मासिक करिब दुई लाख रुपैयाँ रहेको कटुवाल बताउँछन्। “न्यूनतम मासिक तलब करिब दुई लाख रुपैयाँ नेपाली हुन्छ तर कम्पनी अनुसार त्यसभन्दा माथि तलब पनि हुने गर्छ,” उनले भने।
Leave a Reply