वीर अस्पतालको सेवा एक साताभित्र सुधार गर्न मन्त्री बस्नेतको निर्देशन

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १२, २०८०      0

जेठ १२ –  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्। विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार काठमाडौं आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र विरामीहरूले महसुस हुने गरि र सुधार भएको देखिने गरि वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन्।

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए।

मन्त्री बस्नेतले भने‘ वीर अस्पताल देशको लिडर अस्पताल हो। वीरको सेवामा तत्काल सुधार हुनैपर्छ।’ वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमानदार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी गराएका थिए।

मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरूको निरीक्षण गरेका थिए।

मन्त्री बस्नेतले टिकट काउण्टरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरि व्यवस्था गर्न निर्देशन दिएका छन्।

त्यसैगरि अस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्नसमेत मन्त्रीले निर्देशन दिएका छन्। वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ बेड आईसियू एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आईसियू बेड नपाएर भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिए ।

उनले भने,‘ नर्सिङ जनशक्ति केही दिनमा लोकसेवा पास गरेर आउँदैछ भनेर पर्खेर बस्ने अवस्था छैन। अस्पतालकै जनशक्ति तानतुन गरेर भए पनि चाँडो आईसियू सञ्चालन गर्नुपर्यो।’

देशभरि मिर्गौला फेल हुने बिरामीहरूको संख्या बढ्दै गइरहेकोले डाइलासिस गराउन आवश्यक पर्ने बेड संख्या थप्न, अस्पतालको सरसफाईमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको संख्या थप्न पनि मन्त्रीले निर्देशन दिए।

वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारबाही गर्न वीरको नेतृत्वलाई निर्देशन दिए।

मन्त्री बस्नेतले भने ‘सुरुमा हामी चिकित्सकहरूलाई ड्युटी समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौ । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारबाही गरिने छ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार वीर अस्पतालको सेवामा देखिने गरि परिवर्तन गरिने बताए ।

निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल, देवकुमारी गुरागाँई, अतिरिक्त सचिव डा. संगीता मिश्र र मन्त्रालयका अधिकारी थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *