काठमाडौंमा साउन १ देखि प्लाष्टिक प्रयोगमा प्रतिबन्ध

 ग्लोबल टिभि      बिहिबार, असार ७, २०८०      0

असार ७ –  काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।

महानगर प्रमुख बालेन साहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाउने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने बताएका हुन्।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति लिएको छ। निर्माण गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ।

यसैगरी सवारी साधनको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

फोहोर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्योललाई अन्त्य गरी आगामी आवभित्र ठोस योजनासहितको दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने बताइएको छ।

नीति तथा कार्यक्रममा कामपाभित्रको नदीनालाको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रूपमा सञ्चालन गरिने जनाइएको छ। यसका लागि आवश्यक उपकरण खरिद गरी संस्थागत क्षमता विकास गरिने तथा वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गरिने उल्लेख छ।

वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गरिने नीति महानगरले लिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *