काठमाण्डौं । प्रतिबन्धित नेकपा माओवादी (विप्लव) समूहको नाम लिएर एजुकेसन कन्सल्टेन्सी व्यवसायीसँग तीन करोड रुपैयाँ चन्दा मागेको अभियोगमा प्रहरीले चार जनालाई सोमबार साँझ पक्राउ गर्यो।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-२ का ३३ वर्षीय विन्तोष सिलवाल (सुनार), रामेछाप सुनापति गाउँपालिका-३ का ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका-५ का ५२ वर्षीय तीर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका-१३ का ४२ वर्षीय नन्दुराज आचार्य थिए।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई सोमबार साँझ काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार उनीहरूले आफूहरू पहिले विप्लव माओवादीमा रहेर काम गरेको स्वीकार गरेका छन्।
‘जानकारीमा उनीहरू अहिले पनि विप्लव माओवादीमा रहेर कार्यरत् छन्, तर पक्राउ परेपछि उनीहरूले आफूहरू पहिले विप्लव समूहमा थियौं भन्छन्,’ थापाले भने। उनका अनुसार पक्राउ पर्नेमध्ये नन्दुराज आचार्य कानुन व्यवसायी हुन्। उनले तीन करोड रकमको ‘डिल’ दुई करोडमा मिलाइदिने भन्दै कन्सल्टेन्सी व्यवसायीसँग कुराकानी अघि बढाएका थिए।
थापाका अनुसार पक्राउ परेकाहरूसँग काठमाडौंका एक कन्सल्टेन्सी व्यवसायी र नर्सबीच सम्पर्क जोडिएको छ। सम्पर्क जोडिएका ती व्यक्ति एक कन्सल्टेन्सी व्यवसायी र नर्स उनकै श्रीमती हुन्। प्रहरीले अपराध अनुसन्धान र सुरक्षाका दृष्टिले व्यवसायी र नर्सको नाम खुलाएको छैन।
कन्सल्टेन्सी व्यवसायीले विभिन्न देशका विश्वविद्यालयमा विद्यार्थीलाई पठाउने काम गर्थे। ती विद्यार्थीलाई विदेश पुगेपछि रकम संकलन गर्ने एक एजेन्ट अहिले अष्ट्रेलियामा छन्।
अनुसन्धान अनुसार ती एजेन्टले विद्यार्थी पुगेपछि सम्बन्धित विश्वविद्यालयबाट रकम बुझ्ने गर्थे। सन् २०१८ यता उनले विश्वविद्यालयबाट एक लाख रुपैयाँ डलर बुझ्दा नेपाली एजेन्टलाई एक रुपैयाँ दिएका थिएनन्।
पैसा नबुझाएपछि कन्सल्टेन्सी व्यवसायीले एजेन्टलाई ताकेता गरिरहेका थिए। तर, ती एजेन्टले उल्टै कन्सल्टेन्सी व्यवसायीबाट पैसा उठाउन विप्लव माओवादीका व्यक्तिलाई अष्ट्रेलियाबाटै परिचालन गरे। ‘पैसा उसैले (नेपाली कन्सल्टेन्सी व्यवसायी)ले नै कमाएको छ, उसैसँग उठाउनुपर्छ भन्दै अष्ट्रेलियाका ती एजेन्टले विप्लव माओवादीलाई परिचालन गरेको देखिन्छ,’ थापाले भने, ‘त्यसपछि विप्लव कार्यकर्ताले नेपाली कन्सल्टेन्सी व्यवसायीलाई पैसा नदिए ठिक हुँदैन भनेर धम्क्याइरहेका थिए।’
यसक्रममा पक्राउ परेकाहरूले कन्सल्टेन्सी व्यवसायीसँगै उनकी श्रीमतीलाई अस्पताल नै पुगेर धम्क्याएको थापाले बताए। यो जानकारी क्रमिक रुपमा प्रहरीसम्म पुगेपछि कारबाही थाल्दा यी चार जना व्यक्ति पक्राउ परेका एसएसपी थापाले बताए।
पक्राउ परेकालाई आपराधिक लाभ लिन नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्ने अनुमति लिइएको थापाले बताए । पक्राउ परेकाहरू अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। विप्लव माओवादीलाई सरकारले प्रतिबन्धित दलको सूचीमा राखेको छ। पक्राउ परेका यी चार जनाको विप्लव माओवादीमा संलग्नता, भूमिका र चन्दा संकलनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
Leave a Reply