एलन मस्कको नयाँ घोषणा( अब एक दिनमा ८०० ट्वीट मात्रै पढ्न सकिने

 ग्लोबल टिभि      सोमवार, असार १८, २०८०      0

असार १८– माइक्रो ब्लगिङ साइट ट्वीटरका मालिक एलन मस्कले ट्वीटरमा केही नयाँ नियमहरुको घोषणा गरेका छन् । जसअनुसार अब निलो टिको नलिएका अर्थात् अनभेरिफाइड ट्वीटर अकाउन्ट प्रयोगकर्ताहरुले एक दिनमा जम्मा ८०० वटासम्म मात्रै ट्वीट पढ्न पाउनेछन् ।

वास्तवमा मस्क अक्सर आफ्ना निर्णयहरुका कारण सदैव चर्चाको शिखरमा रहने गर्दछन् र यसपटक उनले आम ट्वीटर प्रयोगकर्ताका लागि झस्काउने खालको घोषणा गरेका छन् । एक ट्वीट गर्दै मस्कले ट्वीटर प्रयोगकर्ताले हरेक दिन हेर्न पाउने ट्वीटहरुको संख्या निर्धारण गरिदिएका छन् ।

मस्कले एक ट्वीट गर्दै डेटाको दोहन र सिस्टममै छेडछाडको चरम तहलाई सम्बोधन गर्नका लागि ट्वीटरमा दैनिक हेर्न पाइने अधिकतम ट्वीटको सीमा निर्धारण गरिएको दाबी गरेका छन् ।

मस्कका अनुसार अब निलो ब्याज लिएका अर्थात् ट्वीटर ब्लू सब्सक्राइब गरेका भेरिफाइड अकाउन्टबाट दैनिक ८ हजार सम्म ट्वीट पढ्न पाइनेछ । त्यस्तै पुराना अन भेरिफाइड अकाउन्टबाट दैनिक अधिकतम ८ सय वटा ट्वीट पढ्न पाइनेछ ।

नयाँ अनभेरिफाइड अकाउन्टहरुबाट भने दैनिक केवल ४ सयमात्रै ट्वीट पढ्न पाइने मस्कले बताएका छन् ।

तर यसअघिको सुरुको ट्वीटमा भने मस्कले भेरिफाइड अकाउन्टबाट ६ हजार, अनभेरिफाइड अकाउन्टबाट ६ सय र नयाँ अनभेरिफाइड अकाउन्टबाट ३ सयमात्रै दैनिक ट्वीट पढ्न सकिने बताएका छन् । जसलाई रिट्वीट गर्दै उनले दैनिक हेर्न पाइने ट्वीटको संख्यामा केही थप गरेका हुन् ।

मस्कले ट्वीटरमा कुनै समस्या नआएको दाबी गर्दै सोँच विचार गरेरै यस्तो सीमा तय गरेको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *