माओवादी कोशी प्रदेशमा असन्तुष्टि बढ्दो

 ग्लोबल टिभि           0

असार २४– कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया र मन्त्री चयनप्रति माओवादी केन्द्रभित्र असन्तुष्टि देखिएको छ ।
सरकारमा माओवादीबाट जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय र राजेन्द्र कार्कीले विना विभागीय मन्त्रीको रूपमा आइतबार शपथ लिएपछि असन्तुष्टि जनाउँदै उदयपुर २ (१)बाट निर्वाचित माओवादीका सांसद नारायण बहादुर बुर्जा मगरले आफू सांसद पदबाट राजीनामा दिनसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले मन्त्री चयन प्रक्रियामा पार्टीले गल्ती गरेको भन्दै जनतासँग उनले माफी पनि मागेका छन् ।

‘आदरणीय आम जनसमुदाय म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई–दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्यांकन गर्न सकेन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाई सकेको छु ।’

बुर्जा मगरले स्टाटस लेखेपछि माओवादीभित्र खैलाबैला मच्चिएको छ ।

माओवादी केन्द्र संसदीय दलको बैठकले बुर्जालाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो । धेरैले आइतबार बिहानसम्म पनि उनै बुर्जालाई मन्त्री बनाउनेमा विश्वस्त थिए । तर, एक्कासि राजेन्द्रकुमार कार्की मन्त्री बनेपछि उनी आक्रोशित बनेका हुन् ।

यसैबीच शनिबार माओवादी केन्द्रबाट यसअघि मन्त्री भएका दुर्गाप्रसाद चापागाईँले पनि पुनः मन्त्री दोहोर्‍याउनु नहुने आशयको स्टाटस लेखेका थिए ।

‘कोशी प्रदेश सरकार निर्माण सम्बन्धमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलभित्र माननीयज्यूहरुले राख्नु भएको आलोपाल गरौं भन्ने राय, सुझावलाई आत्मासात गर्दै म यसपटक सरकारमा नजाने निष्कर्षमा पुगें,’ उनको स्टाटसमा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *