असार २४– संसद सुचारु गर्ने बिषयमा तीन दलबीच सिंहदरबारमा भएको सहमति आधा घण्टामै भाँडिएको छ । आफ्नो अभिब्यक्तीबारे प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिने र एमालेले संसद अवरुद्ध हटाउने सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीले तोडेका हुन् । उनले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई हटाउनुपर्ने र गृहमन्त्री नारायणकाजी श्रेष्ठले माफी माग्नुपर्ने अर्को शर्त अघि सारेका छन् ।
निरन्तरको संसद अवरोध हटाउन आइतबार दिउँसो करिव एक घण्टा सिंहदरबारमा तीन दलका शिर्ष नेता छलफलमा जुटे । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा दुई वटा सहमति जुट्यो । एउटा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिब्यक्तीबारे संसदमा प्रष्टिकरण दिने र अर्को एमालेले गरिरहेको संसद अवरोध हटाउने । यहि सहमतिका आधारमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेलाई टेलिफोनमै प्रतिनिधिसभा बैठक २ घण्टा सारिदिन आग्रह गरे । सभामुख घिमिरलेले पनि १ बजेको बैठक ३ बजे सारिदिए । सिंहदरबारको बैठकबाट निष्किदा केही प्रतिक्रिया नदिएपनि अन्य नेताबाट संसदको अवरोध हटेको सूचना बाहिरिसकेको थियो । तर, अव संसद बैठक सुरु होला भन्ने बेला स्थगितको सूचना टाँसियो ।
एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिएको आधा घण्टामै सहमतिबाट पछि हटेका छन् । संसद सुचारु गर्ने निर्णयबाट पछि हट्दै ओलीको अरु शर्त अघि सारेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई हटाउनुपर्ने र गृहमन्त्री नारायणकाजी श्रेष्ठले माफी माग्नुपर्ने शर्त ओलीले अघि सारेका छन् । असार २१ गते प्रधानमन्त्री प्रचण्डको बचाउ गर्दै ओलीलाई विभिन्न आरोप लगाएर आचार्यले विज्ञप्ती प्रकाशित गरेका थिए । सोही आरोप फिर्ता लिनुपर्ने एमालेको माग छ ।
प्रचण्ड र देउवासँग जनाएको सहमतिलाई एमाले सांसदहरुले नमान्दा ओली ब्याक भएका छन् । कांग्रेस भने प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताइरहेको छ । प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पु¥याउनेगरी बोल्न नमिल्ने र प्रतिपक्ष एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको भन्दै दुबै सच्चिनुपर्ने कांग्रेसको सुझाव छ ।
तीन दलको सहमति र भाँडिएको निर्णयलाई संसदको चौथो दलले आपत्ति जनाएको छ । तीन दलको मात्रै संसद नभएको भन्दै बन्धक नबनाउन चेतावनी दिएको छ ।
नेकपा माओवादी केन्द्र भने एमालेले बिद्यायिकी थलोलाई बन्धक बनाउन खोजेको आरोप लगाएको छ । प्राबिधिक र भावनात्मक सामान्य बिषयलाई गलत रुपमा उचालेको उसको ठहर छ ।
विवाद मिलाउन बाहिर छलफल होइन संसदमै बहस हुनुपर्ने जसपा बताउछ । सत्ता घटक जसपा संसद अवरुद्ध गरेर समस्या हल नहुने पक्षमा छ ।
एमालेले थपेको अर्को शर्तले प्रधानमन्त्री प्रचण्डलाई समस्यामा पारेको छ । बल्ल तल्ल तीन नेताबीच छलफल गर्ने वातावरण बनेपनि भएको भनिएको सहमति आधा घण्टामै भाँडिएपछि तत्काल संसद चल्ने सम्भावना कम छ ।
Leave a Reply