असार २५– भारतमा ४१ वर्षयताकै सबैभन्दा ठुलो वर्षा भएको छ । वर्षाका कारण भारतभर वितण्डा मच्चिएको छ । कैयौं सडक भत्एिका छन् भने दर्जनौ मानिस घरबारबिहिन भएका छन् । भारतीय मौसम विभागले अझै केही दिन वर्षा हुने भन्दै सचेत रहन चेतावनी समेत जारी गरेको छ ।
भारतमा ४१ वर्षपछि वर्षाले नयाँ रेकर्ड कायम गरेको छ । दिल्लीको मौसम विभागका अनुसार आइतबार बिहान साढे आठ बजेसम्म २४ घण्टामा १५३ मिमी वर्षा भएको छ । सन् १९८२ पछि जुलाईमा एकैदिनमा यति वर्षा रेकर्ड भएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार दिल्लीमा १२५ मिमी वर्षा भएको जानकारी दिए । मनसुन सिजनको समग्र वर्षाको १५ प्रतिशत वर्षा १२ घण्टामा भएको बताइएको छ । वर्षाका कारण थुप्रै स्थान जलमग्न भएका छन् ।
यता भारतका विभिन्न राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो जनधनको क्षति गरेको छ । वर्षाले सात सय वटाभन्दा धेरै सडक बन्द रहेका छन् । मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण भारतमा २९ जनाको ज्यान गएको छ । हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एक÷एक जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, मनालीमा सात घरमा क्षति भएको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन परिचालन केन्द्रका अनुसार झण्डै ३६ घण्टामा १४ ठाउँमा पहिरो गएको छ भने १३ ठाउँमा बाढी आएको छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ । त्यहाँ २४ घण्टामा ३ सय ६५ दशमलव ४ मिलिमिटर पानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बाढीले सिमला, मनाली, कुल्लु, किन्नौर र चम्बामा दर्जनौँ पसल र गाडी बगाएको भिडियो सार्वजनिक भएको छ । बाढीले राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ । केही व्यक्तिले आफ्नो जीवनकालमा यति ठूलो वर्षा र बाढी कहिल्यै नदेखेको बताएका छन् । प्रशासनले हिमाञ्चलमा दुई दिन विद्यालय र कलेज बन्द गर्न आदेश दिएको छ । यस्तै पर्यटक तथा स्थानीय बासिन्दालाई यात्रा नगर्न र नदी नजिक नजान अपिल गरिएको छ । मौसम विभागले हिमाञ्चल प्रदेशका १२ मध्ये १० वटा जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । धेरै ठाउँमा २४ घण्टामा दुई सय चार मिलिमिटरभन्दा धेरै वर्षा हुने अनुमान छ । शनिवारमात्रै भारतको राजधानी नयाँ दिल्लीमा २० वर्षयताकै ठूलो वर्षा भएको थियो । बिहानदेखि बेलुकासम्म भएको वर्षाले २० वर्ष पुरानो ’रेकर्ड’ तोडेको बीबीसी हिन्दीले जनाएको छ ।
यसैबीच भारतका केही राज्यमा अबको तीन दिन मुसलधारे वर्षाको चेतावनी जारी भएको छ । मौसम पूर्वानुमान विभागले हरियाणा, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, राजस्थान, पञ्जाब र जम्मु काश्मिरमा मुसलधारे पानी पर्ने जनाएको छ । भारी वर्षाका कारण भारतमा जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको हो ।
Leave a Reply