काठमाडौँ : वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईँको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले चौलागाईँको निधनको खबरले अत्यन्त दुःखित तुल्याएको भन्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् । नेता चौलागाईंको निधनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले शोक विज्ञप्ति निकालेर शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
चौलागाईँको पार्थिव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । मन्त्री गुरुङ बुधवार मनमोहन मेमोरियल अस्पताल पुगेर श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट उनको अन्त्येष्टि गरिनेछ। कोरोना सङ्क्रमणले मंगलबार राति उनको निधन भएको थियो ।
एमालेका पोलिटब्युरो सदस्य चौलागाईँ २०७४ सालमा दोलखा (ख) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
Leave a Reply