सुनिता बास्कोटा
भदौ १४ – जबजब चाडपर्व सुरु हुन्छ, तब बजार भाउ आकाशिने गर्दछ । हरेक वर्ष जस्तै यस वर्ष पनि चाडपर्व सूरु हुँदा बजारभाउ पनि बढेको छ । रक्षाबन्धनको लागि भनेर विशेषगरी काठमाडौ उपत्यकाका असन र न्युरोडमा सामान खरिद गर्ने मानिसहरुको भिडभाड लागेको छ ।
प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन हर्षउल्लासका साथ रक्षाबन्धन पर्व मनाउने गरिन्छ । यसपर्वमा दिदीबहिनीले दाजुभाईलाई फलफुल मिठाई लगायत विविध मिष्ठान परिकार खुवाएर दिर्घायुको कामना गर्दै हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँध्ने गर्दछन् । दाजुभाइहरुले पनि दिदीबहिनीको जीवनमा आइपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् । रक्षाबन्धन पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाइलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् ।
काठमाडौंको मुख्य बजार क्षेत्र असनका व्यापारीहरुले भने विगतको वर्षहरुमा भन्दा यस वर्ष व्यापार कम भएको गुनासो गरेका छन् । यता काठमाडौ महानगरपालिकाले अवैध संरचना हटाउने कार्य र फुटपाथमा सामान विक्रि वितरण गर्न रोक लगाएसंगै बजारक्षेत्रमा सर्वसाधारणको चहलपहल रहेपनि व्यापार व्यवसाय भने कम भएको व्यापारीहरुको गुनासो छ ।
रक्षाबन्धनको समयमा बढि प्रयोगमा आउने भाई मसलासंगै मिठाई अनि फूलको व्यापार सवै भन्दा बढि हुने गर्दछ । खाद्यबस्तुहरुको मुल्य विगतको वर्षको तुलनामा यो वर्ष सामान्य रुपमा मात्रै बढेको उपभोक्ताहरु बताउँछन् । चाडपर्व नजिकिँदै जाँदा बजारमा सामानको चर्को मुल्य वृद्धिका कारण खरिद विक्रेता र उपभोक्ता हरेक वर्ष मारमा पर्ने गरेका छन् ।
Leave a Reply