भदौ २२ – आरती साहले न्याय नपाएको विरोधमा उनका परिवारसहित केही युवाहरूले कपाल मुन्डन गरेका छन्। साहको न्यायको लागि काठमाडौं माइतीघरमा धर्नामा बसेको शनिबार ८५ औं दिन पुग्न लाग्दा पनि सरकार अन्धो र बहिरो भएको भन्दै ११ जनाले कपाल मुन्डन गरेका हुन्।
हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको श्राद गर्ने परम्पराअनुसार शुक्रबार बिहान माइतीघरमै परिवार सहित युवाहरूले आफ्नो कपाल मुण्डन गरेका हुन्। आरती साहलाई न्यायको माग गर्दै आरतीको परिवार माइतीघर मण्डलामा धर्ना बसेको छ।
जनकपुरकी २२ वर्षीया दुई महिने गर्भवती साहको दाइजोको निहुमा हत्या भएको भन्दै आरतीको परिवार विगत दुई महिनाभन्दा धेरै समयदेखि धर्नामा बस्दै आएको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम-९ थापा चोकमा रहँदै आएकी साहको दाइजोका कारण उनको हत्या गरिएको माइतीपक्षको आरोप छ।
साहको शव उनी सुत्ने कोठामा पासो लगाई झुण्डिएको अवस्थामा गत जेठ ७ गते भेटिएको थियो। साहको माइती पक्षले प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको आरोप लगाएको छ। जनकपुरमा न्याय पाउने आश नरहेकाले उनीहरू काठमाडौं आएर धर्ना बसेका हुन्।
Leave a Reply