युरो छनोटमा स्पेन र बेल्जियमको फराकिलो जित

 ग्लोबल टिभि           0

भदौ २७-  युरो २०२४ को छनोटमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् ।

समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले साइप्रसलाई ६–० ले पराजित गरेको छ । स्पेनको लागि फेरान टोरेसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बाएनाले एक÷उक गोल गरे । जितपछि चार खेलबाट ९ अंक जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ ।

पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा नर्वेले जर्जियालाई २–१ ले हरायो । नर्वेका लागि एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डले गोल गरे । नर्वे ७ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै रोमेलु लुकाकुको दुई गोल मदतमा बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५–० ले हरायो । जान भर्टोङ्गन र लियोन्ड्रो ट्रोसार्डले पहिलो हाफमा गोल गर्दै बेल्जियमलाई दुई गोलको अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको सुरुमा लुकाकुले दुई मिनेटमा दुई गोल गरेपछि बेल्जियमले ६० मिनेट भित्रै ४–० को अग्रता बनायो ।

बेल्जियमका लागि पाँचौ गोल चार्ल्स डे केटेलाएरेले ८८औं मिनेटमा गरे । जितपछि पाँच खेलबाट १३ अंकसहित बेल्जियम समूह एफको शीर्ष स्थानमा छ । स्वीडेनलाई ३–१ ले हराएर १३ अंक नै जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ । यसैगरी समूह सी को खेलमा इटलीले युक्रेनलाई २–० ले पराजित गरेको छ । इटलीका लागि डेभिड फ्रेटेसीले पहिलो हाफमै दुई गोल गरे ।

युक्रेनका एन्ड्री यार्मालेन्कोले दोस्रो हाफमा एक गोल फर्काए । जितपछि चार खेलबाट ७ अंक जोडेर इटली दोस्रो स्थान उक्लेको छ । पाँच खेलबाट उति नै अंक रहेको युक्रेन तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा नर्थ मेसेडोनियाले माल्टालाई २–० ले पराजित गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *