भदौ ३०- एसीसी एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ । गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध छ रनको रोमाञ्चक जीत हात पारेको हो ।
फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ । बंगलादेशले दिएको दुई सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब पाँच ओभरमा दुई सय ५९ रन बनाएर अलआउट भयो ।
भारतका लागि ओपनर शुभमन गिलले एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन भने सकेनन् । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले तीन तथा तन्जिम हसन र महिदी हसनले समान २÷२ विकेट लिए । त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६५ रन बनाएको थियो ।
हारका बाबजुत भारत समूह विजेताको रूपमा फाइनल पुगेको छ । भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासँग खेल्ने छ ।
बिहीबार पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनल पुगेको थियो ।
Leave a Reply