भदौ ३१- एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन् । श्रीलंकाको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ । ६ पटकको विजेता श्रीलंका र ७ पटकको विजेता भारतबीच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो ।
भारतले सुपर फोरमा श्रीलंकालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ रनमा अल आउट भएको थियो । श्रीलंकाले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो । एसिया कपको फाइनलमा यी दुई टोलीबीच ८ पटक आमने सामने भएका छन् ।
पाँच पटक भारतले श्रीलंकालाई हराएर उपाधि जितेको छ भने श्रीलंकाले ३ पटक भारतलाई हराएर उपाधि आफ्नो पक्षमा पारेको छ। फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ । आज हुने खेलमा श्रीलंकाका स्पिनर माहिस थिक्सानाले एसिया कपको फाइनल खेल गुमाउने भएका छन् । भारतविरुद्धको खेल उनले चोटका कारण गुमाउने भएका हुन् ।
२३ वर्षीय थिक्साना सुपर फोर अन्तर्गत पाकिस्तानसँगको खेलमा घाइते भएका थिए। उनको दाहिने ह्यामिस्ट्रङमा समस्या देखिएको थियो । जारी प्रतियोगितामा थिक्सानाले ५ खेलमा ८ विकेट लिएका छन् । थिक्सानाको स्थानमा साहन आराचिगीले खेल्ने भएका छन् ।
त्यस्तै, भारतका अल राउन्डर अक्षर पटेल पनि चोटकै कारण श्रीलंकासँगको खेल गुमाउने भएका छन्। उनी शुक्रबार बंगलादेशविरुद्धको खेलमा घाइते भएका हुन्। अक्षर पटेलको स्थानमा वासिङटन सुन्दरलाई टिममा बोलाइएको छ ।
Leave a Reply