विनोदबिक्रम भण्डारी
असोज २ – संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल भेटवार्ता अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटरेस र नेपालीहरुसंग भेटवार्ता गरेका हुन् । शनिबार अमेरिका प्रस्थान गरेका दाहाल उतैबाट चिन प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका पुगेसंगै भेटवार्ता शुरु गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सम्बोधन गर्न अमेरिका पुगेका प्रचण्डले पहिलो चरणमा राष्ट्रसंघका महासचीव एन्टोनीयो गुटरेससंग भेटवार्ता गरेका छन् । असार ४ मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नु अघि प्रचण्डले गुटेरेससंग भेटवार्ता गरेका हुन् ।
न्यूयोर्कमा प्रचण्ड र गुटेरेसबीच राष्ट्रसंघको कार्यालयमा भएको भेटमा गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे चासो राखेका बताइएको छ । त्यस्तै शान्ति सेना, जलवायु परिर्वतन र दीगो विकास लगायतका विषयमा पनि छलफल भएको दाबी गरिएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत रहेको बताएका छन् ।
प्रचण्डसंगै भ्रमणमा गएकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्यालले समेत भेटघाटलाई जोड दिएका छन् । परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लाबीच पनि भेटघाट भएको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले अमेरिकामा रहेका नेपालीहरूसंग समेत भेटघाट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डसंगको भेटमा त्यहाँ रहेका नेपालीले विदेशबाटै मतदानको व्यवस्था गरिदिन आग्रह गरेका छन् । जवाफमा प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको बताएका छन् । साथै उनले कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने उल्लेख गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको र अब त्यसको नियमनका लागि विशेष पहल गर्ने बताएका छन् ।
शनिबार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका प्रचण्ड महासभाको सम्बोधन सकेर उतैबाट छिमेकी मुलक चिनको भ्रमणमा जानेछन् । यता नेपालमा भने प्रधानमन्त्री प्रचण्डले लगाएको पोशाकलाई लिएर सामाजिक संजालमा चर्काे आलोचना गरिएको छ । शनिबार त्रिभुवन विमानस्थलमा बिदाइ हुँदा प्रधानमन्त्री राष्ट्रिय पोशाक दौरासुरूवालमा ठाँटिएका थिए । तर अमेरिकी विमानस्थलबाट निस्किँदाको तस्बिरमा उनी सुट–टाईमा देखिएका थिए । जसलाई लिएर सामाजिक संजालमा विभिन्न बहस छेडिएका छन् ।
Leave a Reply