असोज ३ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथिको रुसी आक्रमण अन्त्यका लागि एकजुट हुन विश्व समुदायलाई आग्रह गरेका छन् ।
न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले दुष्टमाथि विश्वास गर्न नसकिने भन्दै रुसप्रति आक्रोश व्यक्त गरेका छन् । जेलेन्स्कीले परमाणु हतियार सम्पन्न मस्कोलाई विश्वले अन्तिम युद्धतर्फ लैजानबाट रोक्नु आवश्यक भएको बताए।
विश्व बजारमा खाद्यान्न र उर्जा लगायतका अत्यावश्यक वस्तुको अभाव सिर्जना गरेर रुसले यसलाई हतियारको रुपमा प्रयोग गर्न खोजेको तथा यसको प्रभाव अफ्रिकादेखि दक्षिण पूर्वी एसियाका देशसम्म देखा परेको उल्लेख गरे ।
मस्कोले युक्रेनमा युद्ध अपराध गरिरहेको आरोप लगाउँदै जेलेन्स्कीले युद्ध अपराधीलाई दण्डित गरिनु पर्ने, हतियारीकरण नियन्त्रित गरिनु पर्ने, युक्रेनबाट जबर्जस्ती रुस लगिएका बालबालिका फिर्ता पठाइनु पर्ने र रुसी सेना आफ्नो देश फिर्ता जानु पर्ने लगायतका माग राखेका छन् ।
सम्बोधनमा जेलेन्स्कीले राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको सम्बोधनको प्रशंसा गरे । महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमाथिको रुसी अतिक्रमण नरोकिए यस्को गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए ।
सोही महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति इब्राहिम रइसीले भने युक्रेन युद्धलाई चर्काएको भन्दै वासिङ्टनको आलोचना गरेका थिए । मस्कोको प्रमुख सहयोगीका रुपमा देखिएको इरानले युक्रेनविरुद्धको युद्धमा रुसलाई लडाकु ड्रोन आपूर्ति गर्दै आएको छ ।
Leave a Reply