असोज ५ – राजनीतिक दलका नेताहरुले शिक्षकहरुको आन्दोलनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शिक्षकले उठाएका माग सम्बोधन गर्न सरकारसँग माग नै गरेको छ । भने कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत शिक्षक आन्दोलनको मागप्रति सकारात्मक प्रतिक्रिया दिएका हुन् । यता आन्दोलनरत शिक्षकहरुसँग वार्ता गरेर समाधान गर्ने जिम्मेवारी भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले शुरु गरेको आन्दोलनप्रति राजनीतिक दलका नेताहरुले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र अर्का महामन्त्री गगन थापादेखि नेता डाक्टर चन्द्र भण्डारीसम्मले आन्दोलनका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत शिक्षकले उठाएका माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
यता सरकारले भने आन्दोलनरत शिक्षकहरुसँग वार्ता गरेर समस्याको समाधान गर्ने जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् । कार्यवाहक प्रधानमन्त्री समेत रहेका कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले शिक्षकहरुसँग वार्ता गरेर समस्याको समाधान गर्ने जिम्मेवारी गृहमन्त्री श्रेष्ठलाई दिएको बताएका हुन् । उनले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको समेत बताएका छन् ।
सरकारले संसदमा दर्ता गरेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै शिक्षकहरुले काठमाडौंकेन्द्रीत आन्दोलन शुरु गरेका छन् । बुधबारबाट शुरु भएको आन्दोलनको दोस्रो दिन बिहिबार समेत शिक्षकहरुले काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनलाई दलका नेताहरुले नै समर्थन गर्ने परिस्थितीले सरकार भने दबाबमा परेको छ ।
Leave a Reply