आजदेखि सोह्र श्राद्ध सुरु

 ग्लोबल टिभि      शनिबार, अशोज १३, २०८०      0

असोज १३- पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजबाट शुरु भएको छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन् । औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् ।

तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिन्छ । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पु¥याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ ।

मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पिता (बुबा) तर्फका तीन र माता(आमा) तर्फका तीन पुस्तालाई सम्झिइन्छ। यो पक्षमा गरिने श्राद्ध अपराह्नमा गर्नुपर्ने विधान छ ।

आज शनिबार प्रतिपदा तिथि २० घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५९ मिनेटसम्म छ। आज प्रतिपदा र द्वितीयाका श्राद्ध एकैदिन परेको छ। तिथि घटबबढ हुँदा प्रतिपदा र द्वितीया श्राद्ध एकैदिन परेको हो । सोह्रश्राद्ध लागेसँगै नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लागेको छ । सोह्रश्राद्ध असोज २७ गते शनिबार पूरा हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *