कार्तिक ३ – बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्के ।
‘दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै आएको थिए’, उनले भने, ‘ओपिडीमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाए ।’
बेनीमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–३ का जीवनबहादुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दङ्ग परे । ‘सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानु परेन’, उनले भने, ‘कार्यालय समयमा फुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ । धेरै लाइन बस्नु पनि परेन ।’
बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमा बहिरङ्ग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुँदै आएको बहिरङ्गको सेवा प्रवाह हुने समय अवधि दैनिक छ घण्टा थपिएको हो । बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरङ्ग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।
गत असोज २१ गतेदेखि परीक्षणका लागि सुरु गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहीबारदेखि औपचारिक रुपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डाक्टर अञ्जु थापाले बताइन् । ‘एक हप्ता परीक्षण गरेर अतिरिक्त समयमा बहिरङ्ग कक्षको सबै सेवा सञ्चालन गरेका छौँ’, उनले भनिन्, ‘दैनिक ६० जना भन्दा बढीले अतिरिक्त समयमा सेवा लिनुहुन्छ ।’
कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्यूनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।
Leave a Reply