काठमाडौँ ‘फिल्मको रचनात्मक शहर’मा सूचीकृत

 ग्लोबल टिभि      बुधबार, कार्तिक १५, २०८०      0

कात्तिक १५ –  राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रूपमा सूचीकृत गरेको छ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो। महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रियट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जनाएको छ। चलचित्र क्षेत्रको विकास र बिस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताएको छ।

यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै गतिविधि कार्यान्वयन गर्ने महानगरपालिकाको विश्वास छ। विश्व शहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रियटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ। युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ शहर सूचीकृत गरेको हो। यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन्।

चलचित्र उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गर्ने नीति रहेको छ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धाताका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिने बताएको छ।

चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिने जनाएको छ। पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइने लक्ष्य छ।

महानगरले भनेको छ, ‘यो वर्ष सञ्जालमा जोडिएका शहरमध्ये काठमाडौंसहित ५ वटा चलचित्र विधामा छानिएका छन्। चलचित्र क्षेत्रको विकास र बिस्तार तथा यससँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक नीति अनुसन्धान र विकासका लागि काठमाडौं क्रियट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुनेछ। यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्नेछ।’

महानगरले अन्तरराष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरराष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म सोमट जस्ता सञ्चालन गर्ने भएको छ। युनेस्को क्रियटिभ सिटिज नेटवर्क (युसीसीएन) कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *