मंसिर ३ – छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ। तराई–मधेशका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। छठ पर्वको अवसरमा आज काठमाडौंका विभिन्न घाटमा छठ पर्वको तयारी पूरा भएको छ। आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ।
व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। छठ पर्वका लागि काठमाडौँका विभिन्न छठ घाटको तयारी अन्तिम चरणमा पुगेको छ। छठको दोस्रो दिन शनिवार खरना विधि सम्पन्न भएको थियो।
चार दिनसम्म मनाइने छठको दोस्रो दिन व्रतालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गर्ने परम्परा छ। छठ पर्वको मुख्य दिनमा आज काठमाडौँको कमलपोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेको रौनक छ। छठका लागि काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजाआराधनाको व्यवस्था गरिएको छ।
काठमाडौँ कमलपोखरी छठ पूजा समाजका सल्लाहकार चन्द्रशेखर सिंहले काठमाडौँको कमलपोखरीमा छठका लागि सबै काम सम्पन्न भएको बताए। उनले अहिले नेपाली सेना, जनपद प्रहरी र महानगर प्रहरीले सुरक्षा दिइरहेको र स्वास्थ्य शिविर पनि सञ्चालनमा राखिएको बताए। नेपालको तराईमा आज छठ पर्वको अवसरमा उल्लासपूर्ण माहोल रहेको छ।
Leave a Reply