फागुन १० – कांग्रेसका नेताहरुबाट सुरु गरिएको वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानले एक हजार ६१ जनाको हस्ताक्षर पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । महासमिति बैठक समापनको सुरुमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएको अभियानका सहसंयोजक लोकेश ढकालले जानकारी दिएका छन ।
पूर्वमहामन्त्री डा. शंशाक कोइराला सहित ४२ जना केन्द्रीय सदस्यले त्यसमा हस्ताक्षर गरेको ढकालले जानकारी दिएका छन । गत सोमबारदेखि सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै अभियानकर्मीहरुले हस्ताक्षर संकलन गरिरहेका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको महासमिति बैठकको हल अगाडि अभियानका अगुवाहरु पाल टाँगेर हस्ताक्षर गराउन जुटेका थिए ।
हन्दुराष्ट्रको एजेण्डाले भने महासमिति बैठकमा छलफलको विषय बनेन । यसअघिको महासमिति बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाइएको थियो । २२ जना केन्द्रीय सदस्यले हिन्दुराष्ट्रको एजेण्डामा महासमिति बैठकमा छलफलको एजेण्डा बनाउनुपर्ने माग सहित सभापति देउवालाई हस्ताक्षर बुझाएका थिए ।
Leave a Reply