फाल्गुन २४ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो आग्रह गरेका हुन्। उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाहाकाे घोषणा गर्न आग्रह गरे।
उनले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे।
‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरु बनेका छन्। पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो। तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ ?’
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाइ साे प्रतिवेदन आज नै जारी गर्न आग्रह गर्दै उनले भने ‘मेरा मित्र रविजी हिजो मात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रवि जी तपाईँले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईँहरू परीक्षाबाट उत्तीर्ण हुनुहुनेछ। नत्र जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो हुने खतरा छ।’
Leave a Reply