कोशी : मुख्यमन्त्रीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेस सांसदको प्रस्ताव

 ग्लोबल टिभि           0

बैशाख ७ –   नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्। उनले आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका हुन्।

‘मुख्यमन्त्रीज्युलाई एउटा अनुरोध गर्दै छु, मार्गप्रशस्तको निम्ति। एक नम्बर  प्रदेशको सर्वदलीय सरकार बनाउनका लागि मार्ग प्रशस्त गरिदिनुस्। मुख्यमन्त्रीकै नेतृत्वमै को–को मन्त्री खान हुटहुटी हुनुहुन्छ? आउनुस्‚’ उनले भने‚ ‘कांग्रेसको मन्त्री हटेर तपाईंहरुलाई मन्त्री बनाउन आतुर छौँ  र एक नम्बर प्रदेशसमा कहिलेसम्म लागिरहने?’

कम्युनिस्ट साथीहरु शब्दमा खेल्न निक्कै माहिर भएको बताउँदै उनले मुख्यमन्त्री हटाउन संकल्प प्रस्तावभन्दा पनि यो प्रदेशको विकास, समृद्धि कसरी ल्याउन सकिन्छ भनेर संकल्प प्रस्ताव ल्याएको भए सुनमा सुगन्ध हुने उनको भनाई थियो।

राईले संविधानको धारा १६८ (५) को आधारमा सरकार बनेकोले सर्वदलीय सरकार बनाउनुपर्नेमा जोड दिए। यो सरकारविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने बताउँदै उनले संकल्प प्रस्ताव फिर्ता गर्न उनले सुझाव दिए।

२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए।

समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन्। उनलाई राजीनामा नदिने भए विश्वासको मत लिन निर्देशन दिनका लागि संकल्प प्रस्ताव दुई दलले दर्ता गरेका हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *