वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ७, २०८१      0

बैशाख ७ –  नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् ।शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो दाबी गरेका छन् । उनले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए ।

उनले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताएका छन् । उनले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गरेका छन् । उनले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताए । उनले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली काँग्रेस सचेत र सजग रहेको बताएका छन् ।

उनले भने, ‘अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ । त्यहाँ एक अर्काप्रति विश्वास छैन । विभिन्न प्रदेश सरकार बनाउने क्रममा होस्, केन्द्रकै विभिन्न निर्णयमा होस्, नियालेर नै हेरिरहनुभएको छ । त्यहाँ विश्वासको रत्तिभर पनि अंश छैन । मुलतः अवसरको हिसावले कहाँकहाँ केके नियुक्ति गर्नुपर्छ, कसो गर्नुपर्छ, कहाँ कसको के भुमिका हुन्छ, बजेटमा पनि कसरी हामीले जुन एउटा अनुशासनमा लगिरहेका थियौँ, त्यो जनताबाट उठेको करको दुरुपयोग हुनु हुँदैन, त्यसको प्राथमिकताको आधारमा जनताकै पक्षमा खर्च हुनुपर्छ, जथाभावी गर्ने छुट कसैलाई छैन भन्ने मान्यताका साथ हामीले काम गरिरहेका थियौँ । कतिलाई त्यो चित्त बुझिरहेको रहेनछ । आफूखुशी गर्न पाइएन भन्ने लागिरहेको रहेछ । यो शुद्ध अवसर छोप्नका लागि बनेको गठबन्धन हो । त्यसैले आफ्नै बोझ, अविश्वास, बिरोधाभाषको बीचमा यो गठबन्धन बनेको छ । त्यही बोझले नै यसको पतन हुन्छ । छोटै समयमा पतन हुने निश्चित छ । त्यसैले यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन । पतन भइसकेपछि कसरी जाने भन्नेमा हामी अलर्ट छँदैछौँ । सचेत छौँ । केन्द्रको गठबन्धन बनाउने बारेमा केही कुराकानी भएको छैन, प्रदेशमा भयो होला ।’

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताएका छन् । अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *