पत्रकार रविन्द्र गौतमको कोरोनाका कारण निधन भएको छ । बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ । नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष, पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्य समेत रहका गौतम दोलखाबाट अन्पूर्ण पोष्टका जिल्ला सम्वादाताको रुपमा कार्यरत थिए ।
दोलखाबाट एयरलिफ्ट गरेर काठमाडौं ल्याइएका ३८ वर्षीय गौतमको आइतबार दिउसो निधन भएको भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याई नयाँबानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचाररत गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गएरातिदेखि भेन्टिलेटरमा राखिएको थियो । गौतमका वृद्ध आमा, श्रीमती, ९ वर्षीया र ६ महिनाकी दुई छोरी छन् ।
दोलखाको भिमेश्वर नगरपालिका–३ निवासी गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । इमेज च्यानल, अभियान आर्थिक दैनिक, डिसी नेपाल डटकम, नवतरंग साप्ताहिकमा काम गरेका गौतम पछिल्लो चार वर्षदेखि अन्नपूर्ण पोस्ट्मा आवद्ध थिए।
अन्नपूर्ण पोस्ट्को दोलखा सम्वाददाता रहेका गौतम रेडियो भिमेश्वरको स्टेशन म्यानेजर समेत थिए ।
Leave a Reply