जेठ ११ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताएका हुन्।
‘तालिममा सिकेको सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,’प्रधानमन्त्री प्रचण्डले भने, ‘कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।’
नेपाल प्रहरी, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी रूपमा अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा मानव अधिकारको संरक्षण गर्न स्थापित संस्था भएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले एक्काइसौँ शताब्दीका चुनौतीहरूको सामना गर्नसक्ने दक्ष एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरूको भूमिका महत्त्वपूर्ण रहने बताए।
विज्ञान र प्रविधिमा भएको तीव्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
Leave a Reply