सुरुङ परीक्षणका लागि मेलम्चीको पानी एक महिनालाई बन्द
काठमाडौ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी एक महिना नआउने भएको छ । सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यसका लागि आयोजनाले असार १ गतेदेखि सुरुङ खाली गर्न शुरु गर्नेछ ।
अहिले परीक्षणकै क्रममा पानी आइरहेको र तीन महिनाको परीक्षण अवधि समाप्त भएको आयोजनाको भनाइ छ । सुरुङमा पानी खाली गराउन १५ दिन लाग्नेछ । निरीक्षण गर्न थप १० दिन लाग्ने भएकोले करिब एक महिना पानी ल्याउन नसकिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । निरीक्षण गर्दा सुरुङमा कुनैपनि त्रुटी नभेटिए एघारौं दिनबाट पानी पठाउन थालिने आयोजनाले बताएको छ ।
तर, सुरुङमा त्रुटि भेटिएको खण्डमा भने केही थप केही समय लाग्नेछ । अहिले काठमाडौ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर पानी आइरहेको छ । यो बन्द भएपछि उपत्यकामा खानेपानीको अभाव हुने देखिन्छ । तत्कालको अभाव टार्न पुरानै प्रणालीबाट पानी वितरण गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको तयारी रहेपनि त्यो पर्याप्त नहुने देखिएको छ ।
Leave a Reply