आए त्यत्तिकै आइहाल्छ नत्र सरकारमा जाने हतारो छैनः शेखर कोईराला

 ग्लोबल टिभि      बुधबार, जेष्ठ ३०, २०८१      0

जेठ ३० – नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताए ।

उनले सरकारका लागि आफैँ प्रश्ताव आए जाने तर कोशिस गरेर मरिहत्ते नगर्ने जिकिर गरे । उनले क्रिमिनलाइजेशन इन पोलिटिक्स गम्भीर बनेको बताएका छन् । उनले सहकारी मात्रै नभइ अन्य धेरै ठाउँहरुमा अख्तियार,निर्वाचन आयोग, सिआईबी लगायतले दुःख दिइरहेको बताए । उनले दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने बताएका छन् । उनले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने बताए ।

उनले भने, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । बैंकको तरलता जस्तो होइन, देशकै अवस्था तरलता छ । आठ वटा सरकार देखिरहनुभएको छ । सात वटा प्रदेशमा एउटा केन्द्रमा । आठ वटा सरकार छ, आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएछ । हामीले कस्तो संविधान बनाएछौँ, हामीहरुको कमी, कमजोरी हो की होइन ? राजनीतिक दलहरुले यो कुरालाई अत्यन्त गम्भीर रुपमा लिएर जानुपर्छ । यो अत्यन्त गम्भीर विषय हो । राजनीतिक स्थिरता वा सरकारको स्थिरता बिना जतिसुकै कुरा गरेर पनि आर्थिक स्थिरता र विकास हुन सक्दैन । राजनीतिक स्थिरता र सरकारको स्थिरता बिना सुशासन पनि हुन सक्दैन । यो यसरी एक दोस्रोसँग गाँसिएको छ, जबसम्म हामीले राजनीतिक र सरकारको स्थिरताका विषयलाई टुंगो लगाउन सक्दैनाँै, देश यस्तै घच्घचमा चलिरहेको हुन्छ । हामी विपक्षमा छाँै, हामीले विपक्षको भुमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छौँ, अन्य दलहरु हामी छैनौँ । आदरणीय साथीहरु अहिले गम्भीर विषय के भएको छ, क्रिमिनलाइजेशन इन पोलिटिक्स । अत्यन्त गम्भीर भएर गइरहेको छ । तपाईंहरुले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, अनि धेरै ठाउँहरुमा अनावश्यक हिसावले अख्तियारले, अनावश्यक हिसावले निर्वाचन आयोगले, सिआईबीले दुःख दिइरहेको छ । यो दुर्भाग्य हो, किन भइरहेको छ, यो कुरा राजनीतिक दलहरुको बीचमा छलफल हुन अत्यन्त जरुरी छ । केको लागि गरिरहेको छ । दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान सक्दैन । राजनीतिज्ञ, ब्युरोकेट्स र व्यपारी, व्यवसायीहरु एक ठाउँमा उभिसकेपछि त्यो अत्यन्त गाह्रो हुन्छ । जबसम्म हामीले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान सक्दैनौँ, तबसम्म यो देश अघि बढ्न सक्दैन । यो देशमा आर्थिक विकास हुन सक्दैन ।’

उनले अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको बताए । उनले आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएको भन्दै संविधानका बारेमा सबै राजनीतिक दलहरुले एक पटक गहन रुपमा छलफल गर्न आवश्यक रहेको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *