दक्षिणपूर्वी एसियाली देश म्यानमार सन् २०२१ को फेब्रुअरीदेखि अशान्त छ । प्रजातन्त्र र स्वतन्त्रताका लागि देशमा रगतको नदी बगिरहेको छ । जुन्ता सरकारले नागरिकका अधिकार खोसेर चरम शोषण गर्दै आएको छ ।
नागरिकमाथि जुन्ता सरकारको चरम यातनाका कारण वर्माको अवस्था कमजोर बनेको छ । अहिले वर्मा बस्न लायक बनेको छैन । वर्माको सरकारले सबैलाई सताएको छ । एक पाइला हिँड्दा बम पड्किन्छ कि भन्ने डर छ भने राति सुत्दा पनि आकाशबाट बम झर्छ कि भन्ने डरका भरमा नागरिक बस्न बाध्य छन् ।
डिफेन्स फोर्स पीडीएफ, युवा विद्यार्थीहरुको विद्रोही दस्ता र दशकौंदेखि राज्यसँग लड्दै आएका दर्जनौं जातीय सशस्त्र विद्रोही समूहहरु सरकारी जुन्ता सेनासँग भिडिरहेका छन् ।
पछिल्लो एक वर्षयता सरकारी सेनाले पराजय भोगिरहेको छ । थाइल्याण्ड र चीनसँग सीमा जोडिएका कतिपय सीमावर्ती क्षेत्रमा विद्रोहीले कब्जा जमाएका छन् । लडाइँका क्रममा विद्रोहीभन्दा ठूलो संख्यामा सरकारी सेना मारिएको दाबी छ । क्रूर सेना युद्ध मैदानमा पराजित हुँदै आएको छ ।
तीन वर्षदेखि लगातार हुँदै आएको युद्धले सेनाको मनोबल कमजोर भएको छ । श्यान राज्यस्थित मुख्य बटालियनका १ हजार ५ सयसेनाले एकैसाथ विद्रोहीसामु आत्मसर्मपण गरेका थिए । लडिरहेका सैनिकहरू भारत, बंगलादेश, थाइल्याण्डतिर भाग्न थालेपछि सेनाको नेतृत्व आफ्नो साख जोगाउन रक्षापंक्तिमा उभिएको छ ।
Leave a Reply