बजेट सार्वजनिक कार्यक्रममा जनप्रतिनिधिहरूबीच मुक्का हानाहान !

 ग्लोबल टिभि           0

असार २६ – चौतारा साँगाचोकगढी नगरपालिकाको बजेट सार्वजनिकिरण कार्यक्रममा जनप्रतिनिधिबीच दोहोरा झडप भएको छ। मुठभेडकै स्थितिबीच आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट भने पारित गरिएको छ । असन्तुष्ट एमाले–कांग्रेस र नगरको नेतृत्व गरेको माओवादी समर्थित जनप्रतिनिधि दुई पक्षमा बाँडिएर मुठभेडमा उत्रिएका हुन्।

बुधबार ११ बजे बजेट सार्वजनिक गर्न नगरसभा बोलाइएको थियो। सभामा एमाले–कांग्रेसले विरोध जनाउने पूर्वसूचनापछि ढिलो गरी दिउँसो १ बजे मात्र कार्यक्रममा सुरु भएको थियो। नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बजेटबारे धारणा राख्न सुरु गर्नासाथ एमाले–कांग्रेस समर्थित जनप्रतिनिधि नारावाजीमा उत्रिए। उनीहरुले भद्र सहमति पालना नभएको भन्दै उठेर नाराबाजी सुरु गरे।

नाराबाजीकै बीच उनीहरु माइक खोस्ने, स्पीकर भूँईमा बजार्ने लगायत गतिविधि गर्दै आक्रमक र उत्तेजित भए। प्रतिवादमा माओवादीका उत्रिएपछि दुई पक्ष मुठभेड निम्तियो। जनप्रतिनिधिबीच हात हालाहाल हुँदै आपसमा मुक्का हान्न थालेका हुन्।

एमाले–कांग्रेसका जनप्रतिनिधि सभामा विरोध जनाउने तयारी साथ आएका थिए। तर झडपकै स्थिति पैदा होला भन्ने अनुमान गरिएको थिएन। सभामा प्रवेश गर्नुअघि उनीहरुले उपस्थिति पुस्तिका च्यातेका थिए। त्यपछि सभामा प्रवेश गरेका उनीहरुले भद्र सहमति कायम गर भन्दै नारावाजी थाले।

वडा नं. २ का वडाध्यक्ष सुदीप श्रेष्ठले सुरुमा माइक खोज्दै स्पीकर उचालेर भुँईमा बजारेपछि शान्त बसेका माओवादी जनप्रतिनिधि प्रतिवादमा उत्रिएपछि सभा असान्त बन्यो। धकेलाधकेल, हानाहान, मुक्का बर्साउने र छ्ट्याउने गतिविधिबीच सभामा कोलाहल मच्चियो।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी नै परिचालन गर्नु गरेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि नगरप्रमुख सापकोटाले आर्थिक वर्ष २०८१/८२ को बजेट र विनियोजन विधेयक सभामा प्रस्तुत गरेका थिए नगर प्रमुख सापकोटाले नाराबाजीकै बीच बजेट र विधेयक सभामा प्रस्तुत गरे।

बहुमत संख्यामा रहेका माओवादी सदस्यले ताली बजाएरपछि सापकोटाले बजेट र विधेयक पारित भएको घोषणा गरे।

नगरमा माओवादीले एकलौटी गरेको आरोप लगाउँदै एमाले–कांग्रेसले केही समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए। नगरसभा र नगर कार्यपालिकामा बहुमत रहेको माओवादीले महत्वपूर्ण निर्णय गर्दा एकलौटी गरेको भन्दै एमाले–कांग्रेसले असन्तुष्टि जनाउँदै थिए।

गत असार ८ गते सम्पन्न १५ औँ नगरसभा पनि बिथोल्ने उनीहरुको तयारी थियो। यो जानकारीपछि नगर प्रमुख सापकोटाले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि सभा सम्पन्न भएको थियो।

प्रतिवद्धता अनुसारको भद्र सहमति बजेट निर्माणमा पालना नभएको उनीहरुको भनाई थियो। प्रमुख सापकोटाले भने सबैलाई समेटेरै अघि बढेको जनाउँदै बिरोध गर्नुको कारण थाहा पाउन नसकेको बताए। ‘काखापाखा गर्ने र पेलेर जाने नियत कहिल्यै राखेको छैन,’ उनले भने।

नगर सभाले आगामी वर्षको लागि १ अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पारित गरेको छ। आठ प्राथमिकताका क्षेत्र तोकिएको बजेटमा शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार विकास, कृषि, पशु र स्वास्थ्य सेवालाई सबैभन्दा बढी महत्व दिइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *