वुटवल । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर करिब ८ महिनापछि पर्यटकका लागि खुला गरिएको छ ।
गत चैतदेखि बन्द रहेको मन्दिर बुधबारदेखि खोलिएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । खुला गरिएको पहिलो दिन ६०० जनाभन्दा बढी पर्यटकले मन्दिर परिसर अवलोकन गरेको बताइएको छ ।
सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिइएको छ । डेढ–डेढ मिटरको दूरीमा उभिन लगाई लाइन लगाएर ज्वरो नापेर मास्क लगाई भित्र पठाउने गरिएको छ ।
मास्क नलगाई आउनेलाई भित्र पस्न दिइएको छैन । लुम्बिनी क्षेत्र खुला भए पनि मायादेवी मन्दिरभित्र प्रवेश पाइने छैन । तर मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा खुला रहने छन् ।
कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द रहेको लुम्बिनी अहिले सिंगारिएको छ । लकडाउनको सदुपयोग गर्दै लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रभित्र सरसफाई, मर्मत सम्भार, वृक्षारोपण र सौन्दर्यीकरणका काम गरेर लुम्बिनीलाई सिंगारेको छ ।
Leave a Reply