काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्छौं– कप्तान अरुणा शाही

 ग्लोबल टिभि           0

साउन १४ –  नेपाल घरेलु मैदानमा आगामी बिहीवारदेखि शुरु हुने काभा महिला नेसन्स लिगको उपाधि जित्ने लक्ष्य लिएको छ । यो उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारीसमेत गरेको छ । प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ । यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन । तर नेपाली टोली शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकरात्मक सन्देश दिएको छ ।

नेपाली महिला भलिबल टोली कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारी धेरै राम्रो भएको उल्लेख गर्दै उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताइन् । उनले उपाधि जित्ने लक्ष्यसहित मिहिनित पनि गरेको बताइन् । यद्यपि प्रतिद्वन्द्वी पनि बलिया र अनुभवी रहेकाले लक्ष्य सहज नरहेको पनि स्वीकार गरिन्। घरेलु समर्थकको साथ टोलीका लागि मनोबल बढ्ने उनको विश्वास छ ।

लामो समयदेखि प्रशिक्षण प्रशिक्षणसँगै रसियाबिरुद्धको खेल काभाको तयारीका लागि महत्वपूर्ण रहेको कप्तान अरुणा बताइन् । शुरुको खेलमा रसियासँग रिसिभ र डिफेन्समा केही समस्या भएपनि त्यसलाई क्रमिक रूपमा सुधार भइरहेको उनको विश्वास छ । रसियाका खेलाडीलाई हाइट एडभान्टेच भएर पनि उनीहरूको सर्भिस र साइटलाई रोक्न केही कठिनाई भएको अरुणाको बुझाइ छ ।

नेपालकी कप्तान अरुणाले रसियाबिरुद्धको खेलले भारत, श्रीलंका र इरानजस्ता बलिया टोलीसँग खेल्न मद्दत पुग्ने बताइन् । रसियाविरुद्ध हाइट भएको ब्लकमा खेल्दा केही अनुभज प्राप्त भएको अरुणाले उल्लेख गरिन्। अहिले काभामा भएका टोली पनि बलिया रहेकाले उनीहरू खेल्ने सहज नहुने कप्तान अरुणा बताउँछिन् । काभा महिला भलिबलमा नेपालका लागि महत्वपूर्ण मानिएकी प्रतिभा माली हुनेछैन । उनी चोटका कारण लामो समयदेखि मैदान बाहिर छिन् । यद्यपि भएका खेलाडीबाट नै आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास भएको कप्तानको भनाइ छ ।

नेपाली टोलीकी अनुभवी स्पाइकर सरस्वती चौधरीले पनि भारत, इरान र श्रीलंका निकै बलियो टोली रहेको र उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित्ने विश्वास व्यक्त गरिन्। उनले भारतविरुद्ध राम्रो खेल खेल्दा पनि हारको अनुभव भइरहे पनि यसपटक जित्ने प्रयास हुने बताइन् ।  भारतीय टोलीबाट खेल्ने तीन खेलाडीसँगको नेपालीले घरेलु लिग खेलेकाले त्यसको फाइदा पनि हुने उनको विश्वास छ ।

नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिनुभएको छ । उनले रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाएको बताइन् ।

प्रशिक्षक भट्टले आफूभन्दा बलियो टोलीसँग खेल्दा हार र जितभन्दा पनि टेक्निक सिक्ने अवसरका रूपमा यो मैत्रीपूर्ण खेललाई लिनुपर्ने औंल्याउनु भयो । बलियो टोली बन्न कसरी खेल्नुपर्छ र के रणनीति आवश्यक पर्छ ? भन्ने कुरा यो मैत्रीपूर्ण खेलबाट सिक्न पाउने प्रशिक्षकको विश्वास छ । प्रशिक्षक भट्टले काभा महिला भलिबलमा नेपालले पाएको सफलतालाई जोगाइराख्न चुनौती रहेको समेत बताउनु भयो । साथै उहाँले भारत, इरान र श्रीलंका नेपालभन्दा केही मात्र माथि रहे पनि जित सम्भव रहेको विश्वास व्यक्त गरे।

अहिले खेलाडीमा राष्ट्रिय टोलीबाट खेल्दा सबै पायौं भन्दा पनि उपाधि जित्नुपर्छ भन्ने मनोविज्ञान रहेकाले त्यसले नेपाली टोलीमा आत्मविश्वास बढेको प्रशिक्षक भट्ट बताए । अहिले टोलीमा रहेका १४ जना खेलाडी नै अंक दिलाउन महत्वपूर्ण हुनेगरी तयारी भइरहेको प्रशिक्षकले बताए । नेपालले मैत्रीपूर्ण खेल र काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरेको थियो । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना बिष्ट र उषा भण्डारी छिन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा छिन् ।

मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी हुन् । यी दुईले रसियासँग प्रभाव छाडेका थिए । महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् । नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश र सहायक प्रशिक्षकमा भरत यादव छन् । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *