भदौ १– कीर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई एक सय आठ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ । बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ । यो जात्रा विक्रम संवत् २०१३ सालदेखि शुरु भएको हो ।
यसैबीच यसवर्षको जात्राको लागि बाघ भैरवको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । बाघ भैरव मन्दिरको मुलद्वार अगाडिको गुन्थ सत्तलमा तीन सय २१ वर्ष अघि स्थापना गरिएको तर विलुप्त भइसकेको बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति हिजो प्रतिस्थापन गरिएको हो ।
मूर्तिकला जगतमा प्रख्यात क्रोेधकला शिरोमणि कालु कुमालेका छोरा स्व।वीरेन्द्रकुमार अवालेको स्मृतिमा निर्माण गरिएको बाघ भैरव मूर्ति हिजो ललितपुरको सिन्चाहितिमा एक कार्यक्रमकाबीच कीर्तिपुरबासीलाई हस्तान्तरण गरिएको थियो । झन्डै २० जना कालिगढले एक वर्ष लगाएर तीन फिट अग्लो स्वर्ण शक्ति भैरवको मूर्ति निर्माण गरेका हुन् ।
कीर्तिपुर गुंदे दापा खलका दुई सय ५० जनाको समूहले नेवारी परम्परागत भेषभूषा र सांस्कृतिक बाजासहित ललितपुरमा मूर्ति लिन आएका थिए । ललितपुरबाट मूर्ति लगिएसँगै हिजो बाघभैरव मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको थियो । राजा शिवदेव तृतीयले बाघ भैरव मन्दिर स्थापना गरेको इतिहासमा उल्लेख छ ।
Leave a Reply