भदौ ४ – यस वर्षको विशेष संस्कृत सम्मान भाषाविद् प्रा. मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिएको छ। सातौँ विश्व संस्कृत दिवसका अवसरमा काठमाडौंको गहनापोखरी, टङ्गालमा सोमबार सम्पन्न समारोहमा उक्त सम्मान भाषाविद् प्रा. उपाध्यायलाई प्रदान गरिएको हो।
सम्मान ग्रहणपछि प्रा. उपाध्यायले संस्कृत भाषाको संरक्षणमा थालिएको पहलकदमी मौलिक भाषाहरूको संरक्षणको लागि प्रेरणा भएको बताए। अहिले मौलिकताप्रति जागरण आएको बताउँदै उनले संस्कृत लगायत मौलिक भाषा प्रेमीहरूले सक्रियता बढाउनुपर्नेमा जोड दिए।
संस्कृत एवं नेपाली भाषाको श्रीवृद्धि साथै सनातन धर्म संस्कृतिको प्रवर्तनका लागि दशकौँदेखि गरेको विशिष्ट योगदानका लागि विशेष सम्मान प्रदान गरिएको छ।
समारोहका प्रमुख अतिथि प्रा. डा. पुरुषोत्तमाचार्यले भाषिक पराधिनता राजनीतिक पराधिनता भन्दा पनि खतरनाक भएको विचार राखे। कथित बुद्धिजिवीहरूले संस्कृत भाषालाई हिन्दू ब्रह्मणवादी तथा आधुनिकता विरोधी भाषाको रुपमा गलत प्रचार गरेको बताए।
Leave a Reply