कात्तिक १५- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन्। उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए। उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको बताए। उनले सकेसम्म तिहारमा विद्युत पुर्याएर निर्यातसमेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको बताए।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको बताए। उनले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए। उनले अहिले पनि २१ सय मेगावट विद्युत उत्पादन भए पनि घटेर १९ सयमा झरेको बताए। उनले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताए।
उनले भने, ‘तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ। अहिले पनि हामीले निर्यात गरिरहेका छौँ। यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो। १२ सय मेगावट विद्युत निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढी पहिरो गयो। तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत उत्पादन हुन्छ। तिहारको लागि विद्युत आयात गर्नुपर्दैन। बढी पनि हुन्छ। कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन। तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु।’
घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए। २०७३ सालको तिहारमा लोडसेडिङ बिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए। तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ।
Leave a Reply