छठको लागि पोखरी सजाइयो, भोलिदेखि विधिवत रुपमा छठ सुरु हुने

 ग्लोबल टिभि      सोमवार, कार्तिक १९, २०८१      0

कात्तिक १९- आस्थाको महापर्व छठका लागि जनकपुरधामका पोखरीहरुलाई सजाउने काम अन्तिम चरणमा पुगेको छ।

आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्वको लागि जनकपुरधामका पोखरीहरुलाई सजाउने काम अन्तिम चरणमा पुगेको छ भने पोखरी नभएको ठाउँमा नदी, कुवा लगायतको पानीको स्रोत भएको स्थानलाई सफा गरी सजाइएको छ।

 

गणेश युवा कमिटीका अध्यक्ष संतोष साहले छठ पर्वको लागि धनुषसागरमा सजाउने काम अन्तिम चरणमा रहेको बताए । उनले यो पोखरीमा ७र८ सय अर्घ रहने गरेकोमा यसको तयारीका लागि दुई देखि अढाई लाखसम्म तयारीमा खर्च हुने गरेको बताए। उनले यो वर्ष प्रत्येक अर्घ वापत ४ सय रुपैयाँ निर्धारण गरिएको बताए ।

‘यस पोखरीमा ७र८ सय अर्घ हुन्छ र यसको तयारीमा हामीलाई दुई अढाई लाख खर्च हुन्छ’, उनले अगाडि भने, ‘तर हामीलाई एक डेढ लाख मात्र उठ्ने गरेको छ, सबैले रुपैयाँ दिँदैनन्। हामीले सेवा भावले तयारी गर्छौँ ।’

 

यस्तै, गंगासागरमा तीनवटा समितिले छठको तयारी गरिरहेको छ। गंगासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि गरेको बताए।

उनले छठ घाटमा अर्घ लिएर आउने श्रद्धालुहरूका लागि घाटमा नम्बरिंग गरिएको बताए। गुप्ताले पछिल्लो ३ वर्ष प्रति अर्घ ५५१ रुपैयाँ निर्धारण गरिएकोमा यो वर्ष ५ सय रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।

गंगासागरमा गंगासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरंज युवा क्लबले छठको तयारी गर्नेगरेको छ । ४ दिन सम्म मनाइने छठ पर्व भोली ‘नहाय खाए’ बिधिबाट शुरु हुन लागेको छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकोले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा लिइन्छ।

यस पर्वमा ब्रतिले पहिलो दिन ‘नहाय–खाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिन्छन् ।

तराई मधेश सहित अहिले देशभर छठ पर्व मनाउन थालिएको छ। यद्यपि जनकपुरधामको छठ पर्व नेपालमै सबैभन्दा प्रसिद्ध रहेको छ। जसको लागि यहाँ हप्तौँ पहिले देखि तयारी सुरु गरिन्छ।

 

छठ पर्वको लागि यस वर्ष जनकपुरधामको ऐतिहासिक पोखरी गंगा सागर, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी लगायतका सरोवरहरुमा सजावटको काम अन्तिम चरणमा पुगेको छ।

यता, छठ पर्वको लागि अहिले बजारहरुमा चहलपहल बढेको छ। यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल(पहल बढेको हो । बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामाग्रीहरु जताततै बिक्री भइरहेको छ।

 

छठ पर्वमा माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी टोकरी, नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ ।

यस वर्ष मंगलबार बाट छठ पर्व सुरु हुँदैछ । छठको पहिलो दिन मंगलबार नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *