चाडपर्वका बेला काठमाण्डौ उपत्यकामा गाडी दुर्घटनाबाट ११ जनाको ज्यान गयो, ३९ हजारभन्दा धेरै चालक कारबाहीमा

 ग्लोबल टिभि      शनिबार, कार्तिक २४, २०८१      0

कात्तिक २४ – काठमाण्डौ उपत्यकामा मुख्य चाडपर्व दशैँ, तिहार र छठको समयमा ३९ हजार एक सय १७ चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दशैँको घटस्थापनादेखि हिजो बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गरिएको हो ।

कारबाहीमा परेका ३९ हजारमध्ये तीन हजार तीन सय ५० जना जाँडरक्सी खाएर गाडी चलाउने रहेका कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

त्यस्तै लेन अनुशासन नमान्ने दुई हजार एक सय ४४, तीव्र गतिमा गाडी चलाउने तीन हजार नौ सय ५७, हेलमेट नलगाउनेलगायत अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार ६ सय ६६ जना रहेका छन् ।

प्रवक्ता चतुर्वेदीका अनुसार दशैँ, तिहार र छठ पर्वको समयमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा चार सय ५० सवारीसाधन दुर्घटना भएका थिए । दुर्घटनामा ११ जनाको ज्यान गएको छ । ३१ जना गम्भीर घाइते तथा ६ सय ३४ जना सामान्य घाइते भएका छन् ।

यसपटक उपत्यका प्रहरीले काठमाण्डौमा पाँच हजारभन्दा धेरै प्रहरी परिचालन गरी सुरक्षा निगरानी गरेको थियो । त्यसमा एक हजार ६ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालित भएका थिए । १८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *