मंसिर २५-२०७९ साउन २२ भित्र बनिसक्नुपर्ने नारायणघाट–बुटवल सडक खण्डको काम मंसिर दोस्रो सातादेखि शुरु भएको छ।
उक्त योजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गरेका थिए। निर्धारित समयमा काम नभएपछि तेस्रोपटकका लागि म्याद थप गरिएको हो।
गत साउनमा म्याद थपिएपछि पनि त्यसको साढे चार महिनापछि मात्रै काम शुरु भएको छ। आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले म्याद थप गरेको आयोजनाले कामै नगरी करिब साढे चार महिना बिताएको छ।
करिब सात वर्षदेखि उक्त बाटो अलपत्र रहेको छ। गैंडाकोटदेखि बुटवलसम्मको बाटो धुलोले अलपत्र हुने गरेको छ। बसमा यात्रा गरिरहेका व्यक्ति धुलोले छपक्कै हुने गरेका छन्।
मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेका निर्माण व्यवसायीले मंसिरको दोस्रो साताबाट विस्तार काम शुरु गरेका हुन्।
नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ। ‘पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम शुरु भएको हामीलाई जानकारी आएको छ’, उनले भने, ‘अहिले सबबेस, बेस, नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम, कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ।’
यो खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौवटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम शुरु हुने उनले बताए।
त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ ठाउँमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इन्जिनीयर खनालको भनाइ छ। गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए
गैँडाकोट–दाउन्नेमा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्रे भइसकेको खनालले बताए। हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३।१५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप ३।१८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको खनालको भनाइ छ।
नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक विसं २०७९ साउन २२ भित्र काम सक्ने गरी विसं २०७५ माघमा सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको थियो।
निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ र तेस्रोपटक २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप गरिएको हो।
Leave a Reply