माघ २९- चोरीको मोवाइलका विषयमा दुई समूहबीच झडप हुँदा काठमाडौंमा एक युवकको हत्या भएको छ । चावहिलको कुमारीगालस्थित उमामहेश्वरीमा आइतबार बिहान भएको झडपमा गम्भीर घाइते भएका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
दुई समूहबीच ग्याङफाइटको सूचना बिहान ६ः५ मा प्रहरीको कन्ट्रोलरुममा पुगेको थियो । सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुग्यो । प्रहरीले दुईजना घाइते युवाहरुलाई उद्दार गरेर अस्पताल लग्यो, जसमध्ये संघर्ष कार्की अचेत थिए ।
केएमसी अस्पताल पुर्याउनासाथ कार्कीलाई डाक्टरहरुले मृत घोषणा गरे । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइयो । मृतक कार्कीको स्थाइ ठेगाना काभ्रेपलाञ्चोकको धुलिखेल–९ पानीट्याङ्कीमा भइ हाल गोकर्णेश्वर नगरपालिका–६ नयाँवस्तीमा बद्यै आएको खुलेको छ ।
अर्का घाइते १६ वर्षिय क्षितिज कार्कीको हात, पिठ्यू र तिघ्रामा चोट लागेको थियो । केएमसीले उनलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गर्यो । उनलाई सोही राति ९ बजे अस्पतालबाट डिस्चार्ज गरी हाल गौशालाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाटै प्रहरीले दुई जना आरोपीहरुलाई तत्काल नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुमा दोलखाको जिरी नगरपालिका १ स्थाइ घर भई हाल कपनको सिमलटार बस्ने २२ वर्षिय युनिक लामा भनिने नुर्बु शेर्पा र सिन्धुपाल्चोक बाह्रविसे–८ घर भइ हाल गोकर्णेश्वर–८ बस्ने २० वर्षिय विशाल तामाङ रहेका छन् ।
उनीहरुलाई घटनास्थलबाट भाग्ने प्रयास गर्दा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरिक्षक अपील राज बोहराले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
बोहराका अनुसार एउटा समूहले टिकटिके मोबाइल चोरेको अर्को समूहले देखेपछि खोसाखोस भएको थियो ।
उनले भने, ‘एउटा समूहले मोबाइल चोर्छ । अर्को पक्षले देख्छ । र, त्यो टिकटिके मोबाइलका लागि भएको झगडामा ज्यान गयो ।’
पक्राउ परेकामध्ये युनिक लामा पाँच पटक अभद्र व्यवहारमा पक्राउ परेको र अर्का विशाल तामाङ दुईपटक चोरीको मुद्दामा संलग्न रहेको प्रहरीको रेकर्डमा देखिएको छ । घटनाका एकजना आरोपी अहिले पनि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
झडपमा संलग्न दुवै समूहमा काठमाडौंमा मोबाइल, ल्यापटप चोरीमा सक्रिय रहेको प्रहरीको भनाइ छ ।
Leave a Reply