फागुन १२– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालेको छ । पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट शुरू भएको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेको हो।
शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चावहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको छ ।
यसैबीच कोषले आउँदो बुधवार परेको महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति र १० वटा उपसमिति गठन गरेको छ । महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१ गठन गरेर त्यस मातहत रहने गरी १० वटा उपसमितिसमेत गठन गरिएको कोषले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको पनि जानकारी दिएको छ । महाशिवरात्रिमा नेपाल र भारतलगायत देशबाट साधुसन्त आउने क्रम चलिरहेको छ । साधुसन्तका लागि कोषले खानेरबस्ने सुविधाको व्यवस्था गरेको छ ।
Leave a Reply