वर्षातका कारण मनाङको फू गाउँको लेकमा सोमबारदेखि ६० जना स्थानीय सम्पर्कविहीन

 ग्लोवल टि.भी.      शुक्रबार, असार ४, २०७८      0

मनाङको विकट फू गाउँको लेकमा यार्चागुम्बा संकलन गर्न गएका ६० जना स्थानीयवासी सम्पर्कविहीन छन् । सोमबार रातिदेखिको अविरल वर्षापछि उनीहरू आफन्तसँग सम्पर्कविहीन बनेका हुन् ।उनीहरू गएको ठाउँमाथि हिमालमा हिमपात भएको र यार्चागुम्बा खोज्ने ठाउँमा पानी परेर बाढी आएपछि उनीहरूको अवस्थाबारे थाहा नभएको मनाङ प्रशासनले बताएको छ ।

फू गाउँबाट दुई दिन लाग्ने लेकमा गत जेठ १५÷१६ तिर गएका १ सय १० जनामध्ये नामयुङ लेक गएका ५० जनामात्रै सम्पर्कमा रहेको डीएसपी सुवास खड्काले बताए । उनका अनुसार लघु लेक र कुलुङ लेकमा गएका ३०÷३० जना सम्पर्कविहीन छन् । यो क्षेत्र समुद्री सतहदेखि ५ हजार मिटर उचाइमा छ । कोरोना संक्रमणको जोखिमले मनाङमा स्थानीयबाहेक बाहिरकालाई यार्चागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ ।

मनाङका विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ, डीएसपी खड्का र चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहितको टोली बिहीबार हेलिकप्टरमार्फत निरीक्षणमा गएका थिए । नार्पाभूमिको फू गाउँ जान सदरमुकाम चामेनजिकै कोतोबाट दुई दिन लाग्छ । फू गाउँबाट यार्चा संकलक सम्पर्कविहीन भएको ठाउँ जान दुई दिन लाग्छ । पोल्देन छोपाङ गुरुङका अनुसार हेलिकप्टरबाट हेर्दा लेकमा मानिसहरू देखिएका थिए । ठूलो हेलिकप्टर जान नसक्ने अवस्था र मौसममा आएको खराबीले उद्धार हुन नसकेको उनले बताए । उनका अनुसार शुक्रबारदेखि उद्दार गरिने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *