‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

 ग्लोबल टिभि           0

चैत ४–   नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ बाट प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाण्डौ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ कल्बमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् ।

उनले भने, ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।’

प्रेमकुमार श्रेष्ठ कप्तान सुब्बाको धर्मपिताका रूपमा परिचित छन् । गएको फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन शुरू भएको चलचित्रले ३ दिनमा २ करोड सात लाख रुपैयाँको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

‘प्रदर्शनकै दिनदेखि हामी काठमाण्डौ उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यस कारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ’, उनले भने ।

वितरक श्रेष्ठले चलचित्र प्रदर्शनको चौथो दिन आइतवार र पाँचौं दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए ।

कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उनको सङ्घर्ष र सफलतासँग भावनात्मक रूपमा जोडिएका निर्देशक मिलन चाम्स बताउँछन् ।

‘कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनुभयो । यो सफलताले आउँदा दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ’, निर्देशक चाम्सले भने ।

चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *