हेलम्बु गाउँपालिकाले अझै २३ जना बेपत्ता भएको बताएको छ ।बेपत्ता हुनेहरूमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन जना भारतीय र तीन जना चिनियाँ नागरिक समेत रहेका छन् । गाउँपालिकाले अहिलेसम्म बेपत्ता भएकाहरूको नामावली समेत सार्वजनिक गर्दै बेपत्ता हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।
हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोले नदी थुनेपछि बाढी आएको पनि गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिका भित्र रहेका चार वटा मोटरेबल पुल र ६ वटा झोलुङ्गे पुल पनि बाढीले बगाएको बताइएको छ ।
यस्तै करीब ८ किलोमिटर सडक बगाएको पनि गाउँपालिकाले जनाएको छ । बाढीबाट हेलम्बु गाउँपालिकाको वडा नम्बर १ सबैभन्दा बढी प्रभावित भएको छ । एक सय भन्दा बढी घर टहरा बाढीले बगाएको छ । एक सय पचास भन्दा बढी घर परिवार विस्थापित भएको पनि गाउँपालिकाका प्रशाकीय अधिकृत विष्णुहरि तिमेल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Leave a Reply