डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयले धनगढीबाट घटनाको अनुसन्धान गर्नप्रहरीका दुई वटा टोली परिचालन गरिएको छ ।
शनिबार परशुराम नगरपालिका(८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो । घटनाको अध्ययन गर्न संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको बताए ।
प्रवक्ता थापाका अनुसार घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली पनि खटाइएको छ । आरआईटीका नायव निरीक्षक पदम थापाको नेतृत्वमा टोली परिचालन गरिएको उनले बताए । दुवै टोली आइतबार बिहानमात्र धनगढीबाट डडेल्धुरातर्फ हिँडेका हुन् ।
यही असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगवुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको शनिबार स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले घटनास्थलको मुचुल्का उठाउने कार्य सकेर शव परीक्षणका लागि अहिले जोगबुढा अस्पतालमा राखिएको जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक नेपालले मृतकको शरीरमा बाहिरी देखिने चोट पटक नदेखिए पनि हत्याको आशंकामा अनुसन्धान अघि बढाइएको बताए । शव परीक्षणको रिपोर्टपछि अनुसन्धानमा सहयोग पुग्ने विश्वास प्रहरीको छ ।
Leave a Reply